माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ।माओवादीले पछिल्ला जनीतिक घटनाक्रमलाई लिएर छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको हो।

आजको बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ। यसअघि गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भए पनि रावि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो।नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी गुमाएका थिए।

आईतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै उनले पुनः गृहमन्त्रीको दाबी गरेका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू गृह मन्त्रालयमा फर्किने चाहना जानकारी गराएका छन्।

लामिछानेले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भन्दै त्यसपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका हुन्उच्च स्रोतका अनुसार लामिछानेले चितवन-२ मा हुने उपनिर्वाचनमार्फत् आफूले जितेर संसदमा आउने हुनाले आफूलाई गृहमन्त्री नियुक्त गर्दा अप्ठ्यारो नहुने तर्क गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले भने लामिछानेलाई ठोस जवाफ र आश्वासन दिएनन्। उनले यसबारे कानुनविद्हरू र निर्वाचन आयोगसँग परामर्श गर्ने जवाफ दिए। लामिछानेभन्दा अगाडि प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच पनि बालुवाटारमा भेट भएको थियो। भेटमा ओलीले लामिछानेलाई गृहमन्त्री बनाउन दबाव दिएको भन्ने समाचार बाहिरिएको थियो। तर ओलीले त्यस्तो कुनै दबाव नदिएको र लामिछानेलाई गृहमन्त्री बनाउनै पर्छ भन्ने चाहना पनि व्यक्त नगरेको स्रोतले बताएको छ। उनीहरूबीच राष्ट्रपति निर्वाचनबारे मात्र छलफल भएको थियो।

प्रधानमन्त्री प्रचण्ड नयाँ गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा छन्। लामिछानेको पद नागरिकताका कारण गुमेपछि प्रचण्ड माओवादीबाटै गृहमन्त्री बनाउने पक्षमा देखिएका हुन्। अहिले गृह मन्त्रालय प्रचण्डले आफैंसँग राखेका छन्।’आफ्नो पार्टीसँग शक्तिशाली मन्त्रालय नभएको अवस्थामा गृह मन्त्रालय माओवादीले नै राख्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ। यस विषयमा उहाँले सत्तारूढ घटकसँग पनि छलफल गर्ने तयारी छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो।सरकारको स्थायित्वका लागि रास्वपा जरूरी रहेको भन्दै त्यस पार्टीका सभापति लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री दिने सहमति भएको थियो। संसदमा रास्वपाको १९ सिट छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button