रूस र बेलारूसका खेलाडीलाई ओलम्पिकमा भाग लिन दिनु हुन्न-जेलेन्स्की

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूस र बेलारूसलाई आगामी सन् २०२४ मा पेरिसमा हुने ओलम्पिक खेलकुदमा सहभागी गराउन नहुने प्रतिक्रिया दिएका छन्। उनले रूसलाई ओलम्पिक खेलकुदमा भाग लिन अनुमति दिइयो भने यसले आतंकवादलाई अनुमोदन भइरहेको सन्देश दिने बताएका छन्।

उनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग यो मुद्दा उठाएकोसमेत जानकारी गराएको बिबिसीले लेखेको छ।जेलेन्स्कीले रूसलाई ओलम्पिकजस्तो प्लेटफर्ममा प्रचार प्रसार गर्न प्रयोग गर्न दिन नहुनेसमेत स्पष्ट पारे।अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले रूस र बेलारूसका खेलाडीले तटस्थ भएर ओलम्पिकमा भाग लिन सक्ने बताएको छ। जसको अर्थ उनले आफ्नो देशको प्रतिनिधित्व गर्दैनन् तर खेलाडीको रूपमा मात्रै भाग लिनेछन्।

तर युक्रेनले सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा रूस र बेलारूसका खेलाडी सहभागी भए उक्त कार्यक्रम बहिष्कार गर्ने बताएको छ।‘रूसी खेलाडीहरूलाई ओलम्पिकमा भाग लिन अनुमति दिनु भनेको सम्पूर्ण विश्वलाई आतंक स्वीकार्य छ भनी बताउन प्रयास हुनु हो,’ आइतबार राति एक भिडियो सम्बोधन गर्दै जेलेन्स्कीले भने, ‘रसियालाई यो खेल वा अन्य कुनै पनि खेलकुद कार्यक्रममार्फत कुनै पनि तरिकाले प्रचार, आक्रामकता वा आफ्नो राष्ट्रवादलाई बढावा दिन दिनु हुँदैन।’

रूस र बेलारुसका खेलाडीहरूले तटस्थ एथलीटको रूपमा ओलम्पिकमा भाग लिनसक्ने भन्दै आईओसीले कुनै पनि खेलाडीलाई उनीहरूको राहदानीको कारणले प्रतिस्पर्धा गर्नबाट रोक्न नहुने बताएको थियो।यता जेलेन्स्कीले कुनै पनि खेलाडीहरू तटस्थता हुन नसक्ने भन्दै युक्रेनी खेलाडीहरूले युद्धको मैदानमा आफ्नो ज्यान गुमाइरहेको स्मरण गरे।यसैबीच बेलायती सरकारले पनि रूसी खेलाडीलाई तटस्थतामा ओलम्पिकमा सहभागी हुन दिने आईओसीको योजनाको भत्सर्ना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button