बल्छी ध्रुब्रे र राजु मास्टरसहितका कलाकारविरुद्ध मुद्दा दर्ता, झन्डै ६५ करोड बिगो दाबी

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका विरुद्ध सोमबार अभियोगपत्र दर्ता गरेको छ ।

नेपालमा प्रतिबन्धित अनलाइन जुवा ‘वान एक्स बेट’ प्रकरणमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेल (राजु मास्टर)सहितका कलाकारहरु र यूट्यूबरविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

कुल ११ जनालाई प्रतिवादी बनाएर सट्टेबाजीसम्बन्धी कसूर र नेपाल राष्ट्र बैंक ऐन–२०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिम ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोगपपत्रमा बल्छी ध्रुबे, राजु मास्टरसहित बेगम नेपाली, एलिश राई, दिनेश खड्का, जलन घर्तीमगर, गणेश देवकोटा, अनिता धिताल, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको आरोप लगाइएको छ ।

यो मुद्दामा एक जना भने फरार रहेका छन् । फरार प्रतिवादी कुशल पोखरेलको हकमा कायम गरी मुद्दा दायर गरिएको छ ।

प्रतिवादीमध्ये खड्का र धितालमाथि कुल ६४ करोड ९४ लाख २९ हजार ८ सय २० रुपैयाँ बिगो कायम गरिएको छ । कलाकार र युट्युबरहरूको हकमा भने विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ उपदफा २ (ढ) अनुसार कसुर गरेकाले सोही ऐनको दफा २५ (२) अनुसार सजाय हुनुपर्ने माग दाबी लिइएको छ ।

अभियोगपत्रमा उनीहरुले नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कार्य गरेकाले सोही ऐनको दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ ।

खड्का र धितालले वान एक्स बेट सट्टेबाजीमा एजेन्टका रूपमा काम गरेको पाइएको छ भने कलाकार र युट्युबरहरू विज्ञापन गरेको अभियोगमा पक्राउ परेका हुन् ।

त्यस्तै विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार पनि मुद्दा चलाएको सरकारी वकिल कार्यालयले जनाएको छ । त्यस्तै एकीकृत कसुरबापत थप सजाय पनि माग गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button