छोडिसकेको लोग्नेसँग अहिले पनि भेटघाट!

श्रीमानको स्वर्गबासपछि नतालिया एक्लै बस्दैछिन्। दस वर्षअघि श्रीमान गुमाएकी ७२ वर्षीया नतालियाको काँध थोरै झुक्न थालेको भए पनि अनुहार भने झर्झराउँदो छ।

यो उमेरमा पनि उनी आफ्ना लागि गर्नुपर्ने प्राय:जसो कामहरू आफैं गर्दै आइरहेकी छन् केटाको जस्तो कपाल काटेकी, गोरो अनुहार भएकी उनको नाकमा अक्सिजनको पाइप जोडिएको छ।

कृत्रिम अक्सिजनको सहारामा बाँचिरहेकी उनी अक्सिजनको पाइप लामो भएका कारण घरभित्रका सबै कोठामा पुग्न सक्छिन्। नतालिया यो उमेरमा पनि सिंगो घरमा एक्लै कसरी बाँचिरहेकी छन् भन्ने कुरा म उनको घरमा काम गर्न गएपछि थाहा पाएँ।

उनी नि:सन्तान भएर एक्लै बसेकी नभई आफ्नै रहरले बसेकी रहिछन्। उनका चार छोरीमध्ये एक छोरी अस्ट्रेलियामा र तीन छोरीहरू उनी बसेकै सहरमा भएकाले उनलाई आवश्यक पर्दा बजार लैजान, ल्याउन सहयोग गर्दै आएका छन्। त्यसरी नै हप्तामा दुई दिन छोरी आएर उनलाई नुहाउन सघाउँछन्।

उनलाई सघाउन छोरीहरूले पालो मिलाएका छन्। एकदिन केहीबेरको भलाकुसारीपछि उनको दैनिकी विस्तृत रूपमा सुनाउँदै भनिन्, ‘हिजो माइली छोरीको पालो थियो। दश बजे आएर मेरो पहिलाको लोग्ने र मलाई मेरै गाडीमा राखेर स्टोरमा छोडिदिइन्। हामीहरूले आफ्ना लागि चाहिने सामान किन्यौं।

सामान किनिसकेर कफी खाएपछि छोरीलाई फोन गरेँ। छोरीले पहिला उसको सौतेनी बाबुलाई सामानसहित ढोकामा पुर्‍याइदिइन्। अनि मेरा सामानलाई घरभित्र राखिदिएर आफ्नो काममा गइन्। मैले आफ्नो सामान बिस्तारै मिलाएर राखेँ। धेरै सामान भएकाले अलिक बढी नै गलेँ। आज त उठ्ने बेलामा अलिक गाह्रो भयो।’उनको दैनिकी सुनिसकेपछि सामान राख्न छोरीले किन नसघाएकी होला भन्ने लागेर मैले सोधेँ, ‘सामान राखिदिन छोरीलाई किन नभनेको त?’

उनले आफूले गरिरहेका कामलाई सहज रूपमा लिँदै भनिन्, ‘मेरो सामान, मलाई पो थाहा हुन्छ त कहाँ राख्ने? कुन सामानलाई कहाँ राख्ने र पहिला कुन खाने भन्रे मेरो इच्छा उसलाई कसरी थाहा हुन्छ? ऊ त कहिलेकाहीँ मैले काम परेर बोलाउँदा मात्र आउँछे। मेरो सामान राख्ने ठाउँ उसलाई कसरी थाहा होस्। बिचरा! उसको पनि त काम छ, घर छ, छोराछोरी छन्, मैले पनि त बुझ्नुपर्छ। मलाई चाहिनेभन्दा बढी उसको समय किन लिनुपर्‍यो। अनि अझै त म आफ्नो काम गर्न सकिरहेकै छु।’

छोरी हुँदाहुँदै यत्रो काम एक्लै किन गरेकी होलिन्? बिचरा बुढाबुढी मान्छे भन्ने भावनाले प्रेरित भएर सोधिएको मेरो प्रश्नको उत्तर उनका कुराले प्रष्ट रूपमा दिए।

एक्लै बस्दै आएकी उनका लागि त्यो काम आफ्नै जिम्मेवारी र स्वाभिमानको विषय रहेछ भन्ने बुझ्न गाह्रो भएन आफ्नै छोरीको किन नहोस् आफूलाई चाहिनेभन्दा बढी समय खर्च नगर्ने उनको व्यवहार प्रशंसायोग्य लाग्यो।सकुन्जेल आफ्नो काम आफैं गर्नुपर्छ भन्ने उनको स्वाभिमानी कुरा सुनेर म अत्यन्त खुसी भएँ।

आफ्नो भूतपूर्व लोग्नेसँग सँगै बसेर कफी खानु, गफ गर्नु, सपिङ जानु जस्ता विषय म हुर्केको परिवेशमा भन्दा नितान्त फरक थिए। पुरानो लोग्नेलाई भेट्दैछन् र सँगै सपिङ जाँदैछन् भन्ने विषय मेरा लागि अत्यन्तै रोचक र अनौठो हुनपुग्यो। त्यसैले पूर्व लोग्नेसँगको उनको सम्बन्धलाई लिएर मैले उनलाई सोधेँ, ‘तिमी अझैसम्म पनि छोडिसकेको लोग्नेसँग भेटघाट, बोलचाल गरिरहेकी छौ? हाम्रोतिर त्यस्तो हुँदैन।’

मैले सबै कुरा पूरा भनी नसक्दै उनले भनिन्, ‘किन भेट्न, बोल्न मिल्दैन र? आखिर हामी दस वर्षसँगै बसिसकेका हौं। एकले अर्कालाई राम्ररी चिनेका छौं। एकअर्काको सहमतिमा नै छुट्टै बस्ने निर्णय गरेका थियौं। मैले ऊ भन्दा मनपरेको अर्को केटा पाएँ अनि विवाह गरेँ। उनको पनि केटी साथी थिइन् तर छोराछोरी भने भएनन्।

करिब पाँच वर्षअगाडि केटी साथी बितेपछि उनी एक्लै भएका छन्। त्यसपछि मैले छोरीहरूलाई उनलाई सहयोग चाहिएको कुरा गरेँ। छोरीहरूले आमा तिमी चाहन्छौ भने हामी सहायता गर्न सक्छौं भनेपछि अहिले हामी सँगै स्टोर जाने गरेका छौं। त्यसका अतिरिक्त हामी कहिलेकाहीँ महलतिर पनि जान्छौं। दिनभरि त्यस्तै घुमेर फर्कन्छौं।

गत वर्ष उनले मलाई फोन गरेर ‘भोलि मसँग फिल्म हेर्न जान सक्छौ? तिम्रो बर्थडेको उपलक्ष्यमा उतै दिउँसोको खाना पनि खाउँला’ भनेर सोधेका थिए।’

उनले सहज रूपमा सुनाइरहेका कुराहरूले मलाई भने आफू हुर्किएको ठाउँ, संस्कार र परिवेशको याद ताजा गराइरहेको थियो। ती संवादहरूले हामी बीचको सांस्कारिक भिन्नता प्रष्ट पारिरहेको थियो। उनीसँगको भेट र कुराकानीका प्रत्येक दिन मेरा लागि जिज्ञासापूर्ण हुने गर्थे।

अर्को एकदिन उनले टेबलमा भएका धेरै उपहारका सामानहरू देखाउँदै मलाई भनिन्, ‘यी सबै मेरा छोरी र नातिनातिनाका लागि क्रिसमसका उपहार हुन्। अब त क्रिसमस आउन पनि त दुई हप्ता मात्र बाँकी छ होइन र? मेरा अस्ट्रेलियामा भएका छोरी र नातिका लागि अस्ति नै उपहार पठाइसके। अर्को हप्तामा उनीहरूले पनि मैले पठाएका उपहारहरू पाउँछन्।’

उनलाई हरपल अक्सिजन चाहिन्छ। यी सबै सामान आफैं बजार गएर रोजेर किनेकी हुन् भन्ने जानेर मैले आश्चर्य मान्दै सोधेँ, ‘यत्रो सामान किन्न त धेरै समय लाग्यो होला? यति लामो अक्सिजनको पाइप लगाएर बजार घुम्न कसरी सम्भव भयो?’उनले हाँस्दै भनिन्, ‘ए मैले तिमीलाई भन्न बिर्सिएकी, बाहिर जाँदा प्रयोग गर्ने सानो अक्सिजन छ। त्यही लगाउँछु। ६ घन्टासम्म पुग्छ। यी सामान मैले दुईचोटि गरेर ल्याएकी।’

आँखाअगाडि रहेका त्यतिधेरै सामान देखेपछि र नातिनातिना पनि रहेछन् भन्ने थाहा भएपछि मैले आफू हुर्किएको समाजको परिवेशलाई सम्झेँ।आफ्नो देशको संस्कारलाई सम्झेँ। यसरी बुढाबुढीहरू आफ्नो घरमा एक्लै नबस्ने। कोही बुढाबुढीहरू एक्लै बसेका छन् भने पनि नातिनातिना उनीहरूको साथी बसी दिने।

हजुरबा हजुरआमालाई साथी हुन्छ भनेर प्रायजसो बाबुआमाले आफ्ना नानीहरूलाई बाबुआमाको साथै राखी दिने गरेका छन्। त्यसैले मेरो मनमा उनका नातिनातिना कति जना होलान् भन्ने प्रश्न उब्जियो र उनलाई सोधिहाले ‘तिम्रा कति जना नातिनातिना छन्?’

उनले भनिन्,’मेरा चार छोरी पट्टिका १२ जना नातिनातिना छन्। मेरो एउटा छोरो थियो। ३५ वर्षको उमेरमा क्यान्सरले गर्दा बित्यो। ब्लड क्यान्सर अन्तिम स्टेजमा मात्र देखापर्यो बचाउन सकिएन। हेर त! त्यो टेबलमाथि फ्रेममा भएको फोटो उसैको हो।’फोटो हेरेर उनी टोलाउन लागेपछि मैले उनको छोराको कलिलो उमेरमा भएको मृत्युमा सहानुभूति प्रकट गरें।

कुराकानीका सिलसिलामा मैले उनीसँग प्रश्न गरेँ, ‘यति धेरै नातिनातिना रहेछन्। साथी पनि हुने एउटालाई आफूसँग राख्न मिल्दैन?’मेरो जिज्ञासालाई साम्य पार्दै उनले विस्तारै तर जोशका साथ भनिन्, ‘पहिलो कुरा, मलाई एक्लै स्वतन्त्र भएर बस्न मनपर्छ। मैले भन्दा छोरीले आफ्ना नानीहरू मसँग बस्न पक्कै पठाउँछन् तर तिनका नानीहरू तिनको जिम्मेवारी हो। मैले जसरी उनीहरूलाई हुर्काएँ, पढ्ने वातावरण मिलाइदिएँ र अहिले उनीहरू सक्षम छन्। त्यसरी नै उनीहरूले पनि आफ्ना नानीहरूलाई आफैंले हुर्काउनु पर्छ।

दोस्रो, आफ्ना आमाबाबुसँग बस्न पाउने नानीहरूको जन्मसिद्ध अधिकार हो। म उनीहरूको त्यो अधिकार खोस्न चाहन्नँ। मैले आफ्नो स्वार्थका लागि उनीहरूको अधिकार किन खोस्नु? म उनीहरूलाई पारिवारिक जमघटमा कहिलेकाहीँ भेटिहाल्छु। उनीहरूको जन्मदिनका दिन बिहानै फोन गरेर ह्याप्पी बर्थडे भन्छु र उपहार पनि दिने गरेकै छु।

तेस्रो, मैले उनीहरूलाई सधैं राख्नेबित्तिकै मेरो दैनिकी बिग्रन्छ। खानेकुरादेखि लिएर अरु धेरै कुरामा परिवर्तन आउँछ। म मेरो व्यक्तिगत स्वतन्त्रता र घरको शान्तपूर्ण वातावरण उनीहरूका कारण भङ्ग गर्न चाहन्नँ।म उनीहरूलाई माया गर्छु तर उनीहरू सधैं मसँग बसेको भने मलाई मन पर्दैन। आदित्यादि कुराहरूले गर्दा म उनीहरूको जिम्मेवारी लिन चाहन्नँ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button