विवाहित हुँ, अझै प्रेम मेरो पुरानो प्रेमीलाई!

‘मामु! हेर्नुस् त,यो त मलाई पनि फिट हुने रैछ’ सायराले आफ्नी आमाको दराज संग्रहालयबाट एउटा रातो सिल्कको कुर्ता निकाल्दै ऐना अगाडि उभिएर भन्छे।

‘यो कुर्ता किन्दा मेरो वेट यस्तै ४० केजी जतिको थियो होला। त्यो बेला मेरो प्राय साथीहरूले फोटो खिच्नको लागि भए पनि यो कुर्ता लगाएर रहर मेटेका थिए’। उषाले छोरीतर्फ हेरेर मुस्कुराउँदै भन्छे।

आज आमाछोरी मिलेर उषाको पुरानो सामान र लुगाहरू सुरक्षित राखिएको दराज मिलाउने कार्यक्रम छ।

यो दराज कसैलाई पनि खोल्न र हेर्न अनुमति थिएन। आज आफ्नी १७ वर्षकी छोरीलाई भने उसले त्यो दराजको सामान खोतल्ने अवसर दिएकी थिई।

एक वर्ष नेपालमै बस्ने गरी, छोरीलाई पनि यहाँको वातावरणसँग मज्जाले घुलमिल गराउने उद्देश्यले उषा अमेरिकाबाट आएकी छ। उषाले छोरीसँग आफ्ना सबै भावनाहरू साटासाट गर्छे।

विगतदेखि भविष्यका योजनासम्म छोरीलाई बताएकी हुन्छे। सायराले पनि आमालाई आमामात्र होइन एक मिल्ने साथी सरह सबै कुराहरू सुनाउने गर्छे।

उनीहरूको सम्बन्ध आमाछोरी मात्र नभएर साथी-साथीको जस्तो छछोरीलाई एकदमै माया र स्वतन्त्रताको महसुस सधैं गराइरहेकी हुन्छे उषाले।

परिवारबाट चाहिने स्वतन्त्रता नपाउँदा कस्तो पीडा हुन्छ भन्ने कुरा आफूले विगतमा भोगेको भएर पनि उसले छोरीलाई दिने स्वतन्त्रतामा कुनै कमी गर्दिनँ।

सायरा दराजमा पुराना सामान हेर्दै दङ्ग परिरहेकी हुन्छे।यत्तिकैमा उसले एउटा सानो डायरी भेटाउँछे। डायरी पल्टाउने बित्तिकै उसको नजर एउटा फोटोमा पुग्छ। कालो-सेतो चेक सर्ट, जिन्स पाइन्ट,कालो चस्मा लगाएको,

एउटा खोलाको किनारमा ठूलो ढुङ्गामाथि बसेको,यस्तै १८,१९ वर्षको केटाको फोटो। फोटोको माथिपट्टि लेखिएको थियो-एउटा कथा तिम्रो मेरो पिरतीको लेखिनेछ, उदाहरण हर प्रेमीले चोखो प्रेमको देख्नेछ।

सायराले अंग्रेजी मिस्रित लवजमा यो नेपाली सायरी विस्तारै पढेर सुनाउँछे। यो सुनेर उषाको अनुहार रातो हुन्छ एकाएक।‘मम्मा! हु इज दिस जेन्टलम्यान?’

छोरीको कुरा सुनेर हत्तपत्त उषाले डायरी खोस्दै’साथी हो’भन्छे।‘इट्स नट फेयर, ममा! को हो के? भन्नुस् न।’छोरीले जान्न खोजेपछि उषाले छोरीतर्फ हेर्दै नहेरी सानो स्वरमा जवाफ दिन्छे- सजल।

‘ओह्….’ सायराले आश्चर्यजनक रूपमा दुबै हात गालामा राख्दै, आँखा ठूला बनाउँछे, आमाको हातबाट डायरी खोस्छे र फोटोलाई निकै बेरसम्म नियालिरहन्छे।

त्यही सजल?जसले हजुरलाई बसस्टपसम्म छोड्न र लिन आउँथ्यो। त्यही पागल प्रेमी?जो हजुरको लागि आफ्नो इञ्जिनियरिङ पढाइ क्यान्सिल गरेर फेरि आई.ए ज्वइन गरेको थियो?

छोरीको कौतुहलता मेट्दै उषा बोल्छे-‘हो त्यही सजल,जसलाई मैले पहिलोपटक बसमा देख्दा नै मन पराएकी थिएँ। जसलाई दोषी बनाएर बीचमा छोडेकी थिएँ। हो ऊ त्यही प्रेमी, जसले मलाई जतिसुकै बाधा आए पनि डटेर सामना गर्छु तिम्रो लागि भन्थ्यो। बस नहिँडिन्जेल मसँग कुरा गरेर बस्ने केटो उही हो। कलेज बाहिर मलाई जिस्क्याउने दैनिकी बनाएर बसेका केही बेरोजगारहरूलाई तह लगाउने सजल।’

डायरीमा भएको सजलको फोटो नियाल्दै उषाले छोरीलाई भन्छे ‘त्यो बेला यसरी डायरीमा फोटोसहित सायरीहरू लेखेर दिनुलाई अटो भर्ने भनिन्थ्यो। आफ्ना साथीहरूलाई यो अटो भर्न दिइन्थ्यो र उनीहरूले सम्झनास्वरूप आफ्ना भावनाहरूसँगै एउटा फोटो टाँसेर यसलाई फिर्ता गरिदिन्थे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button