छोरा जन्माउने औषधि कहाँ पाइन्छ 

हुम्लाको अदानचुली गाउँपालिका–६ की दिनकुमारी धिमाल ७४ वर्षकी भइन्, उनी आफैं अस्वस्थ छिन्, त्यसमाथि तीन वर्षअघि ज्यान गुमाएकी छोरी भूमिसराको शोकले थप सताइरहेको छ ।

भूमिसराको मृत्यु आठौं छोरी जन्माउने क्रममा भएको हो । ‘भौंती छाचुरी (धेरै छोराछोरी) पाउँदा मरेई हो,’ उनले भनिन्, ‘न निको खान पाई, न गाउँका मान्ठबाट निको वचन पाई, मेरी छोरी निकाला (अकालमै) मरी ।’

आमा दिनकुमारी पनि नौ पटक गर्भवती भएकी थिइन् । १३ वर्षमा बिहे भएदेखि गर्भवती हुन थालेकी दिनकुमारीले पाँच छोराछोरी मात्रै हुर्काउन सकिन्, चार गर्भमै खेर गए । उनको पाला परिवार नियोजन सुविधा सहज थिएन । अहिले छ, तर छोरा र छोरीको भेद गर्भमै थाहा हुन्छ ।

छोरीको उता ज्यान गयो, यता बुहारी पनि लगातार गर्भवती भइन् । दिनकुमारी आफैं भन्छिन्, ‘मजस्तो आमाले जन्माया छोराले पनि जहानलाई बच्चा पाउन्या मेसिन बनाया छन् ।’ धेरै सन्तान जन्माउँदा शरीर कसरी बिग्रन्छ भन्ने बुढेसकालमा बुझ्दै गएकाले बुहारीलाई अब बच्चा नपाउन सल्लाह दिइन् । तर लगालग दुई छोरी जन्माएकी बुहारीले सबैको दबाबपछि तेस्रो सन्तान छोरा पाइन् ।

छोराबुहारीले अझै परिवार नियोजन गरेका छैनन् ।
जाजरकोटको बारेकोट गाउँपालिका–४ की ३७ वर्षीया उर्मिला परियारको काखमा १८ महिनाको छोरा हुर्किरहेको छ । छोरा पाउनुअघि उनी आठ पटक गर्भवती भइन् ।

पहिल्यै जाँच गर्दा छोरा नभएको पुष्टि भएपछि तीन पटक गर्भपतन गराइन् भने जन्मिएको केही महिनामै दुई छोरीको मृत्यु भयो । अहिले तीन छोरी र एक काखे छोरा छन् । ‘१४ वर्षमा बिहे गरेकी हुँ,’ उनी भन्छिन्, ‘पहिलो बच्चा १६ वर्षमा जन्माएँ, त्यसपछि लगातार आठ पटक गर्भवती भएर छोरा जन्माएँ ।’

खासमा उनलाई दुई वा तीनभन्दा धेरै सन्तान पाउने मन थिएन तर निर्णय उनले गर्न पाइनन् । ‘मैले मात्रै चाहेर के गर्ने हो र, लोग्नेले मान्दैनन्, समाजले पनि के भन्छ भन्दाभन्दै नौ पटक गर्भवती भएँ,’ उनी भन्छिन् । ठूली छोरीको बिहे भइसक्यो । एउटी छोरी कक्षा ६ र अर्की कक्षा ४ मा पढ्दै छन् । छोरा भने विद्यालय जाने भइसकेका छैनन् ।

मुगुको सोरु–५ नेरकी ३६ वर्षीया हिरा शाहीका पाँच छोरी छन्, परिवार छोराको पर्खाइमा छ । हिरा र श्रीमान् निमबहादुरले आफन्त र समाजबाट दबाब पनि झेलिरहेका छन् । कान्तिपुर संवाददातालाई निमबहादुरले सोधे, ‘छोरा जन्माउने औषधि कहाँ पाइन्छ ?’

उनीजस्ता पुरुषलाई छोरा वा छोरी पाउन औषधि होइन, पुरुषको क्रोमोजोमको भूमिका हुन्छ भनेर बुझाउन कसैले सकेको छैन । उनले यो पनि जान्न खोजे, ‘छोरा छ कि छैन चेक गर्ने ठाउँ कता होला ? थाहा छ भने भन्दिनुस् ।’ छोरा नै किन चाहिने ? उनले उही ‘समाज र संस्कृति’ कै कुरा गरे ।

सोरु गाउँपालिका–१० धैनकोटकी ३७ वर्षीया अबकती जैसी त १० पटक गर्भवती भइन् । १४ वर्षमा बिहे गरेकी उनका दुई छोरी र तीन छोरा छन् । दुईवटा गर्भ खेर गए भने तीन छोराछोरीको एक वर्ष नपुग्दै मृत्यु भयो । यतिका धेरै छोराछोरी उनले रहरले जन्माएकी होइनन् । ‘आफूले चाहेरभन्दा पनि परिवार र आफन्तको खुसीका लागि बच्चा जन्माउनुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘न गर्भवती र सुत्केरी अवस्थामा स्याहारसुसार पाइयो, न अहिले ।’

परिवार र समाजको दबाबमा बच्चा जन्माउने मेसिनजस्तै बनेकी अबकती अहिले पाठेघरको समस्या झेलिरहेकी छन् । रक्तअल्पता, मधुमेहको त उनी दीर्घरोगी भइसकिन् ।बच्चा बोकेर धैनकोट स्वास्थ्यचौकीको बैठकमा सहभागी हुन आएका महिला । तस्बिर : राजबहादुर शाही/कान्तिपुर

सोरु गाउँपालिका–४ फोतुकी ३५ वर्षीया सोबी नेपालीका काखमा अहिले सातौं सन्तान छ । १४ वर्षको उमेरमा विवाह गरेकी उनका दुई बच्चा खेर गए, एउटाको एक वर्ष नपुग्दै मृत्यु भयो । उनका श्रीमान् नन्दवीरले छोराको आसमा लगातार ७ सन्तान जन्माउनुपरेको बताए । ‘सामाजिक मान्यता नै छोरा पाउनुपर्ने भन्ने छ,’ उनले भने, ‘छोराकै आसमा लगातार ६ छोरी जन्मिए, अन्तिममा छोराको जन्म भयो ।’

बग्रेल्ती सन्तान जन्माएका सोबी–नन्दवीर दम्पतीसँग तिनीहरूलाई पालनपोषण गर्ने र हुर्काउने गतिलो आम्दानीको स्रोत छैन । आफ्नो कृषि उत्पादनले ३ महिना पनि खान पुग्दैन । त्यसैले दुवै ज्यालादारी गरेर घर धान्छन् । ‘समाजकै चलनले धेरै छोराछोरी जन्माइयो, अहिले पालनपोषण गर्न समस्या भयो,’ भन्छन्, ‘बूढी पनि रोगी छ,

कमाइले घर चल्नै मुस्किल भयो ।’ गाउँमा कम्तीमा पनि ५ सन्तान जन्माएका महिलाको संख्या कति होला ? अबकतीले गनेर छुट्याउन सकिनन् । छोराको आसमा जति पनि सन्तान जन्माउन तयार हुने र अन्तिममा एउटा मात्रै छोरा जन्मेपछि पनि स्थायी परिवार नियोजन नगर्ने धेरै छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button